Saturday, April 20
Shadow

गृहमन्त्रीमा नियुक्त हुन रवि लामिछानेको चाहना, प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिए नयाँ रणनीति


  • -इ
  • इ+

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्।

उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए।

लामिछानेभन्दा अगाडि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो। भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दबाव दिएको भन्ने समाचार बाहिरिएको थियो। तर ओलीले त्यस्तो कुनै दबाव नदिएको र लामिछानेलाई गृहमन्त्री बनाउनै पर्छ भन्ने चाहना पनि व्यक्त नगरेको स्रोतले बताएको छ। उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे मात्र छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्ड नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्। लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रचण्डले आफैंसँग राखेका छन्।

‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट छ।

रास्वपाले भने लामिछाने गृहमन्त्री नरहे गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ।

आइतबार रास्वपाको केन्द्रीय समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता तथा महासचिव मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्ने बताएका थिए।

‘यो समस्या रास्वपालाई परेको हो। अन्य सत्ता घटकमा परेको होइन। बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ,’ ढकालले भने।

चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनका लागि सूचना जारी गरिने पनि उनले बताए। पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै ढकालले संयम हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

रास्वपाको बैठकले संगठन विस्तारको कार्यविधि पारित गर्दै संगठन विस्तार कार्यतालिका माघ २१ देखि पुनः सुरू गर्ने निर्णय गरेको छ।

आइतबार दिउँसो पुन: नागरिकता लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बनेका लामिछानेले साँझ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। अदालतको निर्णयपछि उपनिर्वाचनबारे छलफल गर्न र गृह मन्त्रालय नछोड्ने पार्टीको निर्णय जानकारी गराउन सभापति लामिछाने त्यहाँ पुगेका थिए।

अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएपछि आइतबारै बसेको रास्वपा केन्द्रीय समिति बैठकले उनलाई सभापति चयन गरेको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares