Thursday, April 25
Shadow

नमस्कारको फण्डा


  • -इ
  • इ+

‘नमस्कार’को फण्डाः–

उनताकाको कुरा हो जतिबेला म ल क्याम्पसको प्रशासनमा काम गर्थें । एकजना रामबहादुर दाइ हुनुहुन्थ्यो पालेको पदमा । एकदिन वहाले मलाई कम्पाउण्ड भित्र हिडिरहनु भएका तत्कालिन डिनसाबलाई देखाउदै चिडचिडाउदै भन्नुभयो, “हेर्नुस् न ! त्यो डिनसाब भेट्दैपिच्छे नमस्कार खोज्नुहुन्छ । विहान देखि वेलुकासम्म । नमस्कार नगरे जागिरै खाईदिउला जस्तो गर्नुहुन्छ ।” वहाको मेसेज जटील, दुर्वोध्य र असम्प्रेषणीय थिएन । मनको आगो ओकल्नुभयो वहाले । मलाई लग्थ्यो, ‘यी डिनसाव पनि कति अहंकारको कुपोषणको चक्रमा श्वास धानीरहेका होलान्, अहंकारका पुत्ला ! एकपटक विहान भेटहुदाँ नमस्कार गरे त भै हाल्यो नि !’

मेरा एकजना अनन्य वकिलमित्रले एकपटक आफ्नो मनमा उठेका यस्तै तरंग यसरी सुनाउनु भएथ्यो, “हेर्नोस् न, त्यो मान्छे ! हामीसँगै ल सोसाईटिले कानुनी साक्षरता कार्यक्रम गर्दा देशका विभिन्न ठाँउहरुमा गयौं । म भन्दा पछिल्लो पुस्ताको कानूनव्यावसायी हो । मलाई आदर गर्थ्यो भेट हुनासाथ नमस्कार गर्थ्यो । अहिले पिएचडी गरेपछि त भेट हुँदा पनि गजक्क भएर वस्छ, मसँगै नमस्कार खोजेर ।”

पहिला पहिला त मलाई लाग्थ्यो, ती डिन सर र ती कानून व्यावसायी मात्रै अहंकारका प्रतीक वा विम्ब हुन । तर आजकल लाग्छ, ति पाले दाइ र ती मेरा अनन्य मित्रमा पनि खासै फरक छैन रहेछ । यी चारै जना यस्तो घटना भएको दिन वेलुकाको निँद एक दुई घण्टा त्यै घटनामा चिन्तन गरेर नष्ट गर्दा हुन । डिन साब र ती कानून व्यावसायीको निँद अलि बढी विग्रदो हो । यिनी सबै अहंकारबाट जलित व्यक्तित्व हुनुपर्छ ।

वास्तवमा नमस्कार के हो? हामी कसैलाई किन नमस्कार गर्छौं ?

नमस्कारको भावार्थ हो– सम्मान गर्नु । हाम्रो मन, आवाज र मुद्राले गर्न सकिने प्रणामलाई हामी नमस्कार भन्छौँ । मान्यजनलाई देख्नासाथ झुकेर आदर र सम्मान गर्ने यो चलन सनातनदेखिकै हाम्रो परम्परा हो । ‘नमस्कार’ शब्द संस्कृत हो । नमःको अर्थ म नमन गर्छु । अथवा म झुक्छु । अथवा मेरो अहङ्कार झुक्यो भन्ने हुन्छ ।

तन्त्रविद्का अनुसार ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो । नमस्कार अति पवित्र संयोजनमा प्रकट गरिने आदरार्थी शब्द भएकाले यसलाई दिन वा लिन आफूलाई पवित्र भावमा राख्नुपर्दछ र नमस्कार गर्दा दुबै हात जोडेर नमस्कार गर्नुपर्दछ र फर्काउँदा पनि दुबै हात जोडेर फर्काउनु पर्दछ ।

नमस्कार शिष्टता हो, सभ्यता हो र सुसंस्कारित नागरिकको पहिचान हो । नमस्कार दिन लिन जानेका मानिसहरु अरुका दृष्टिमा हृदयबाटै सम्मानित हुन्छन् । जीवनमा आदर, सम्मान, मर्यादा, प्रशंसा पाउँदा नै मन खुशी हुन्छ । हृदय पुलकित हुन्छ । वास्तवमा खुशीको श्रोत नमस्कार हो । हामी दिनहुँजसो नमस्कार दिने लिने कार्यमा सरिक भएका हुन्छौं । तर जानेर वा नजानेर नमस्कारको जतन गर्न ध्यान दिइरहेका हुदैनौं ।

यसरी बुझ्दा ति डिनसाबले आफुभन्दा बृद्ध ति पालेलाई वा ति मेरा अनन्य मित्रले पिएचडी मित्रलाई नमस्कार गर्दा पनि हुने हो । अरु अहंकारी भयो भन्दैमा हामीले पनि अहंकारबाटै जलेको खरानीबाट किन जवाफ दिने ? नमस्कार त प्रत्येक व्यक्ति भित्र रहेको अविनासी, असीम, विशाल, अपरिमेय र स्फुट चैतन्यलाई गरिने रहेछ । त्यो तत्व त सबैसँग विराजमान छँदैछ नि । हेर्नोस् त ! नमस्कार त आध्यात्मिक उर्जाबाट निसृत हुनुपर्ने रहेछ। आध्यात्म पहाडबाट प्रस्फुटित झरना जस्तै हुन्छ, कलुषित मनलाई नै निर्मल पार्ने । अनि नमस्कार कै इस्यूमा अहंकारको पुत्ला बनेर किन हिडिरहने ?

अब, अथर्ववेदको यो एउटा ऋचा राखेर आजको विषयको विट मर्न चाँहन्छु

नमः सखिभ्यः पूर्वसद्भ्यो नमः साकंनिषेभ्यः ।
युञ्जे वाचंसतपदीम् ।। (उ. ९–२–७–१)

भावार्थः सभा, समाज र यज्ञ आदिमा पुग्दा पहिले हात जोडेर नमस्कार गर्नु । बोल्ने अवसर पाईयो भने हात जोडेर सवै मित्रहरुलाई नमस्कार गरी आफ्नो व्याख्यान सुरु गर्नु । कहिले पनि विद्या, दान, जाती, कुनिलता आदिको अभिमान नगर्नु । मान्यजन, अग्रज र साथीभाइलाई देख्नेबित्तिकै अभिवादनका रूपमा मात्र गर्ने गरेको नमस्कार अब आफ्नो मानसिक र आध्यात्मिक दुवै स्वास्थ्यका लागि पनि कति उपयोगी र वैज्ञानिक रहेछ भनेर बुझ्नु । चिन्तन–मनन गर्नु र दिनभरिको ऊर्जालाई यथास्थानमा राख्न बिहान व्युँझिनेबित्तिकै ओछ्यानबाटै जीवन र जगत्लाई सम्झेर केही समय नमस्कार, प्रणाम गर्नु । यो वेदको पवित्र, मधुर र सुखदायक उपदेश मान्ने निरभिमान पुरुष सदा सुखी रहन्छ ।

(यो विषयमा लेख्न मेरा क्लासमेट रामबहादुर राउतजीलाई सर्वोच्च बारको चुनावताका सार्वोच्च परिषरमा भेटेपछि उत्साह जागेको हो । वहाको आध्यात्मिक रुपान्तरण काविल-ए–तारिफ रहेछ । वहाले हाम्रो छोटो भेटमा ‘नमस्कार’ र ‘नमस्ते’को व्याख्या गर्नुभएथ्यो) ।  लेखक – मेघ राज पोख्रेल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares