Friday, March 29
Shadow

ललकारिएको झापा – चिरन कोइराला


  • -इ
  • इ+

चिरन कोइराला

                                       बदनाम झापाली !

चतुर, चलाख, चण्डाल झापाली ! यस्तै यस्तै उपनाममा काठमाडौं लगायतका शहरबाट
मोफशलको पूर्वी जिल्ला झापा र झापालीलाई आजपनि ब्याङ्ग्यात्मक नजरले हेरिन्छ ।
झापाबाट आएको भनेसी आज भन्दा १२/१५ बर्ष अघिसम्म त मुख्य शहरहरुमा डेराभाडा
पाउन समेत मुस्किल थियो भन्ने पनि कताकति सुनिएकै हो । कसैले कतै चोकतिर, चिया
पसलतिर, भट्टीतिर मुलुकको समसामयिक राजनीतिक, वैचारिक कुराकानी गरेमा झापाली हो
कि के हो भनेर सोधिनु त सामान्य नै हो । सामाजिक संजालमा समेत झापालीलाई विभिन्न
ट्रोल बनाएर मजाक बनाइएको पाइन्छ । के साँच्चै झापा त्यस्तै छ, झापाबासी त्यस्तै छन्,
इतिहासको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक आधार त्यस्तै छ जुन काठमाडौंमा बस्ने
७६ जिल्लाका मानिसहरु सोच्छन ? झापालाई बदनाम कस्ले गर्यो ? किन गर्यो ? कहाँ
भेटिएला त्यो ? आज यस्ता निर्मम प्रश्नहरु झापाबासी सामु तेर्सिएका छन् ।

वास्तवमा आज झापा भने निकै पिडामा छ । हरेक ५ बर्षमा आउने राजनीतिक परिवर्तनले
निराशा बाहेक केही दिएको छैन झापालाई । पुरानो विचार, पुरानो शैली, सोच, संस्कार,
मनोवृत्ति, पुरानै अनुहार नयाँ नयाँ कलेबरमा उदाउँदो छ तर झापा र झापाली भने बिस्तारै
बिस्तारै अस्ताउँदो छन् । विद्रोही इतिहासको जगमा उभिएको समाज आफ्नो पहिचान
गुमाएको पिडामा छ । बजारीकरण, अन्दाधुन्ध शहरीकरण, परसंस्कृतिकरण, विश्वव्यापिकरण
एवं विकृत लोकतन्त्रको आक्रमणमा परेको छ । पुँजिवादको चपेटाले बेरोजगारीताको भुङ्रोमा
परेको छ । यसै सेरोफेरोमा यहाँ झापाको ऐतिहासिक, राजनीतिक, आर्थिक सवालबारे केही
मन्थन गरिएको छ ।

विश्व मानचित्रमा झापाको अवस्था निम्न बमोजिम छ ।
 अक्षांश:- २६.२०” देखि २६.५०” उत्तर
 देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
 सिमाना:- पूर्वमा पश्चिम बङ्गाल (भारत), पश्चिममा मोरङ जिल्ला, उत्तरमा इलाम
जिल्ला, दक्षिणमा बिहार (भारत)
 क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
 औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व-पश्चिम)
 औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर-दक्षिण)
 उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ ।

ऐतिहासिक पृष्ठभूमि

झापा नाम कसरी रह्यो भन्ने रोचक किस्सा छ । कुनै एक समय राजवंशी समुदायका केही
मानिस त्यो ठाउँमा गहुँ छर्नका लागि खेत जोतिरहेका थिए । त्यसबेला गोस्वाराका दुई जना
कर्मचारी त्यस ठाउँको लगत लिन पुगेछन् । त्यो बेला खेत जोत्दै गरेका उनीहरू बिहानको खाना
पानी हालेर खाने तरखरमा रहेछन् । आगन्तुकले उनीहरूलाई यो ठाउँको नाम के हो भनेर सोधे
। खेत जोत्दै गरेका एक जना राजवंशीले नेपाली भाषा नबुझेर खाना मागेको शंकाले अर्का
व्यक्तिलाई झ्याप, झ्याप भनेछन् । राजवंशी भाषामा झ्यापको अर्थ छोप्नु भन्ने लाग्छ । उपस्थित
कर्मचारीले ठाउँको नाम नै झ्याप लेखेर हिँडेपछि त्यो शब्दको अपभ्रंश हुँदै झापा बनेको ८४
वर्षीय उगनलाल गणेश बताउँछन् । राजवंशी भाषामा झापा भनेको पनि छोपिएको भन्ने अर्थ
लाग्छ । (मनिषा चम्लागाईँ,’अस्ताउँदै झापाभित्रको झापा, कारोबार डेल्ली डटकम,२०७६) ।
परापुर्व कालमा झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो । पछि
उक्त मोरङ गोश्वारा तत्कालिन कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो जुन गाउँ
हाल पनि कुमरखोद, झापा बजारका नामले चिनिन्छ । तसर्थ त्यस झापा गाउँको नामबाटै
कालान्तरमा यस ठाउँ (जिल्ला) को नामाकरण झापा रहन पुग्यो भनिन्छ । परापुर्व काल देखिनै
झापा क्षेत्रमा राजवंशी जातिहरुको बसोबास थियो । जिल्लाका आदिवासी
जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र
शताब्दीऔं देखि झापा बजारमा पूर्व, पश्चिम र उत्तर तीनतिर घना जंगलले ढाकिएको र वन
जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई
रहिआएको छ । यस स्थानको नामबाट नै जिल्लाको नाम झापा रहन गएको भन्ने भनाइ छ ।
विक्रम संवत् २०१९ मा ७५ जिल्ला बनाउने क्रममा मोरङबाट छुट्याएर झापा छुट्टै प्रशासनिक
केन्द्र बनेको हो । त्यस यता मात्र झापाले जिल्लाको पहिचान पाएको हो । झापा जिल्ला
बहुजाति, बहुभाषी र विभिन्न संस्कृति तथा रितीरिवाज र परम्परा मान्ने मानिसहरूको
बसोबास भएको जिल्ला हो । यहाँका प्रमुख जाति बाहुन, क्षेत्री, लिम्बु, राई, गुरुङ, मगर,
तामाङ, कोचे, मेचे, सन्थाल, थारु, ताजपुरिया, राजवंशी, किसान, धिमाल, विश्वकर्मा, नेपाली,
मुसलमान आदि हुन । यस जिल्लामा बहुजातिय बसोबास छ र आआफ्नै चाडपर्व, परम्परा र
संस्कृतिहरु छन् । मिश्रित बसोबास भएतापनि सहिष्णुता र सद्भाव कायम छ ।

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापा लिम्बुवान
राज्यमा पर्दथियो र त्यसबेला लिम्बुवान खेबाङ वंशी राजा बुद्धिकर्ण राय खेवाङको शासन
थियो । सन् १७७३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको
फौजले आक्रमण गरी मोरङ कब्जा गरे । सन् १७७४ मा आक्रमण गरी विजयपुरलाई पनि
कब्जामा लिए । अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँत लिम्बुवानको उत्तरी

सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो र लिम्बुवानका लिम्बुहरु र गोर्खाली बिच
सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको
सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो । सन्
१७८३ मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना
पश्चिमतर्फ कुमाउँ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो । तर सन् १८१४ मा
अङ्ग्रेजले बिराटनगर र रङ्गेलीबीच पर्ने ‘धनपुर’ भन्ने स्थान र तत्कालिन झापा बजार
एवं कुमरखोद गाविस आसपास आक्रमण गरी आफ्नो कब्जामा लियो । पुर्वका अन्य स्थानहरुमा
पनि आक्रमण भयो बाध्यताबस १८१६ मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य
भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो भन्ने जानकारहरुको भनाई
छ ।

झापा एक परिचय अनेकः

धेरैलाई अझै पनि थाहा छैन झापा जिल्लाभित्र छुट्टै झापा भन्ने ठाउँ छ भनेर । झापा भन्ने
बित्तिकै जो–कोहीले एउटा जिल्लालाई सम्झिन्छन्, पुरानो पुस्तालाई झापा भन्ने अलग्गै ठाउँ
भएको थाहा भए पनि नयाँ पुस्ता यो सम्बन्धमा बेखबर छ । यही स्थानको नामबाट जिल्लाको
नाम पनि झापा रहन गएको हो । कुनै बेला जिल्ला सदरमुकाम रहेको झापा बजार सदरमुकाम
चन्द्रगढीमा सारेपछि अहिले सुनसान प्रायः छ । पूर्व–पश्चिम राजमार्गको सुरुङ्गा खण्डबाट २४
किलोमिटर दक्षिणमा रहेको तत्कालिन कुमरखोद गाविसको झापा बजार नै वर्तमान झापा
जिल्लाको पहिलो परिचय हो । झापा बजारका नामबाट जिल्लाको परिचय स्थापित भए पनि
जिल्लाबाट उपेक्षित बन्दै आएको छ यो बजार ।

शहिद भूमी हो झापा । विस २०२८ सालदेखि सुरु भएको झापा किसान विद्रोहका पाँच
अगुवाहरुलाई २०२९ फागुन २१ गते तत्कालिन शासकहरुद्धारा सुखानी जंगलमा मारिएको
थियो । सुखानीमा मारिने सहिदहरुमा रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेनसिंह राजबंशी, कृष्ण
कुईकेल र नारायण श्रेष्ठ थिए । “सहिदले देखेको सपना यस्तो थिएन, देशलाई आजको
अवस्थामा ल्याउन हाम्रा परिवारले बलिदान दिएका थिएनन्” । आजपनि सुखानीका सहिद
परिवारको एकमुष्ठ आवाज यही छ ।

झापा जिल्ला कुनै समयमा धान, मकै एवं अनाज उत्पादन हुने प्रचुर सम्भावना बोकेको जिल्ला
थियो । धानवाली खेतीमा कृषकहरुको आकर्षण थियो । स-साना घरेलु उद्योगहरु थिए । बाँस र
सनपाटका सामाग्रीहरु निर्माण हुने गर्दथ्यो । तर आज झापाका कृषक युवाहरु बिदेशिएका छन्,
केही स्थानिय राजनितीक ठालुहरु ठेकेदार भएका छन्, जग्गाको खण्डिकरण बढेको छ ।
खेतीयोग्य जमिन प्लटिङ गरिएको छ । जिल्लाका साना-ठूला व्यापारी विस्थापित भइसकेका
छन् । माडबारी समुदायका व्यापारी विस्थापित भइ काठमाण्डौँ मात्र होइन धनगढीसम्म पुगेका

छन् । ठुला धान/चामल मिल र चिया उद्योग क्रमश धराशायी हुदै विस्थापितको अवस्थामा
पुगेका छन् । साना ठूला व्यवसाय सुक्दै गएका छन् ।
ग्रामिण भेगमा रहेका स्थानीय ढीकी, जाँतो, ओखल, स साना तेल मिल, धान मिल, चिउरा
मिल विस्थापित भएका छन् । मकै, भटमास, चिउरा, भक्का, भुजा एवं गुन्द्रुक-चाम्रेको
खाजालाई अहिले चाउचाउ, मम, चाउमिन, चटपटेले बिस्थापित गरेको छ । कृषि कर्म गर्न खेत
जोत्ने गोरु र राँगा मुस्किलै पाइन्छ । गाई र भैंसी पालन मुस्किलै छ । दुध प्याकेटबाट लगिएको
खाने अवस्था छ । दही मोहीका ठाउँ कोक स्प्राइट र पेप्सीले लिएको छ । कृषिका लागि
स्थानिय औजार हलो, अनउ, जुवा, पाटी, हल्लुडो, फाली, पटाहा, हरिष आदि काठका समाग्री
लोपोन्मुख छन्, जसको बजार पनि छैन । स्थानिय बाँसको चोयाबाट बनाइएको भकारी, चित्रो,
घुम, डोको, थुन्से बनाउने मानिस अहिले नगन्य छन् । पुराना पुस्ता स्थानिय उत्पादनको बजार
नभएकोले निराश छन् भने नयाँ पुस्ताको यस्ता कुरामा आकर्षण छैन । पाटा (सनपाट) का
सामाग्रीमा बनाइने नाम्लो, डोरी, घरमै काँटाको प्रयोग गरी बुन्ने उनी धागोको सुइटर, टोपी,
पन्जा, टेवलपोस, धानको परालबाट बुन्ने गुन्द्री, पिर्का, सुकुल आदि सबै लोप भए भन्दा फरक
पर्दैन ।

विश्वव्यापिकरणको अन्धधुन्ध स्थानियकरण हुँदा स्थानिय उत्पादन, संस्कृति र पहिचान लोप
हुदै गएको छ । सालको पात एवं मकैको खोस्टामा खाने सुर्तीलाई अहिले महगो चुरोटले
विस्थापित गरेको छ । कोदो तथा कनिकाबाट मर्चा प्रयोग गरी बनाइने स्थानिय पोशिलो
जाँडलाई अहिले महँगो हुस्की, रम र बियरले बिस्थापित गरेको छ । स्थानिय गाँजालाई अहिले
सीमाक्षेत्रबाट हुने लागूऔषध कारोबारले ठाउँ लिएको छ भने लोहोरो, सिलौटोमा पिसेर
बनाइने स्थानिय लोकल लसुन, प्याज, टिमुर, गाँजा, आँप, बयर, बेलचन्ना, गोलभेडा, धनियाँ,
सुँपको अचारलाई रेडिमेड अचार एवं मिक्सरको परिकारले विस्थापित गरेको छ । खाजामा
तरुल, आलु, पिडालु, सुटुनी उसिन्ने एवं मकै भुट्ने घर अहिले चाउचाउ, चाउमिन, थुक्पा, मम
बनाउन लागिपरेको छ । स्थानिय कोला (केरा) अम्बा, बयर, लिची, आँपलाई स्टोरमा
राखिएको स्याउ र सुन्तलाले खरिद गरेको छ । तिल, तोरी, सरसिउँ, आलस, भटमास,
सुर्यमुखीको स्थानीय तेल सेवन गर्ने समाज आज बजारबाट पाकेटको तेल खान बाध्य छ ।
समाजमा साँस्कृतिक, सामाजिक एकता थियो ऐंचो, पैंचो, सरसापट, अर्मपर्म, मेलापात हुन्थ्यो
उ बेला, तर आज काम गर्ने न जनशक्ति छ न त्यस्तो संस्कार नै छ । पानीलाई माटाको गाग्रीमा
राखेर खाने चलनमा अहिले जार र ट्याँङ्कर पुगेको छ ।

झापाका पुराना र विशेष व्यवसायिक महत्व बोकेका बजार ध्वस्त छन् । नयाँ नयाँ बजार र
शहरीकरणले महँगी बढाएको छ भने अनुत्पादक क्षेत्रमा लगानी बढ्दो छ । जिल्लाका गौरादह,
क्याम्पा, घैलाडुब्बा, शिवगञ्ज, झापा बजार, भद्रपुर बजार, चन्द्रगढी सहितका पुराना बजार

नयाँ बजारमा कारोबार र चलहपहल सरेसँगै सुनसान बनेका हुन् । भद्रपुर र चद्रगढी जस्तै
झापाकै दक्षिणवर्ती सिमानानजिक रहेका गौरीगन्ज, केचना, उत्तरवर्ती शनिश्चरे
बजारलगायतका बजारको चहलपहल हिजोआज इतिहासमा सीमित बनेको छ । शिक्षा,
स्वास्थ्य, रोजगारी एवं उत्पादनको क्षेत्रमा कुनै बेलाको झापाको वैभव यतिवेला गफाडीहरु बस्ने
ठाउँमा (झापाली) परिणत भएको छ । त्यैसैले त आज बदनाम छ झापा । अझ भनु भने भेडाहरु
बस्ने ठाउँ भनेर उडाउँछन आफुलाई सभ्य ठान्ने मानिसहरु ।

ससाना गाउँहरु शहर घोषणा भए पछि बिचौलिया प्रभाव हाबी भयो । बिचौलियाको प्रभावले
राजनीतिक नेतृत्वमा लोकतान्त्रिक मूल्य मान्यता, योग्यता, शुसासन, पारदर्शिता र
जवाफदेहिता हराउँदै गयो, नेतृत्वहरु बुर्जुवाकरण भए । असमानता, विभेद, दमन र शोषणका
नयाँ रुपहरु देखापरे । गाउँबाट शहरसम्म आइपुग्दा मानिस शारिरीक रुपले फरक त देखिएन
तर उसको सोच, विचार र व्यावहार भने व्यापक फरक हुन गयो । सुखभोगी सुविधा र
विलासिताले भुलायो । जीवन निर्वाहका पद्धतिहरुमा परिवर्तन ल्यायो । यी सबैको कारक
पुँजीवादको जडमा टिकेको नाफाखोर सोच नै हो । त्यसैले त पुँजीवादले मानव र प्रकृतिबिचको
सम्बन्धमा पारपाचुके ल्याएको छ ।

हो अहिलेको झापा र झापालीलाई साँच्चै पिडा छ । पुँजिवादले विगतको प्रणाली र गौरवपूर्ण
इतिहासलाई पछौटेपन, रुढिवाद, पाखेपन एवं आधुनिकताविरोधी, समयअनुसार चल्न नजान्ने
आदि आदि विशेषण दिएर बुझ्ला तर इतिहासले मानव र प्रकृतिबिचको भावनात्मक सम्बन्ध
देखाउँछ । प्रेम, माया, सद्भाव र सम्मान देखाउँछ । पुँजिवादले झापालीहरुलाई कृर्षि छाडेर
गैरकृषि पेसामा संलग्न हुन प्रेरित गरिरहेको छ । मानिसहरुलाई थातथलो छोडेर सहरतर्फ
बसाईं सर्न बाध्य पारिरहेको छ । हरेक झापाली यसको शिकार भएको अवस्था छ । परिणामतः
विचौलिया बर्गको उदय एवं सहरीकरण तीब्र रुपमा भएको छ । यहाँको माटोमा आफ्नो
स्वार्थपूर्तिका लागि (रासायनिक मल, विषादी, हाइब्रिड बीउ, प्रविधि ज्ञान आदिको बिक्रीका
लागि) नो हंगर र खाद्य सुरक्षा जस्ता नाराहरु लगाएर जमिनको अत्धिक दोहन बढाउँदै जाने,
डोजरे र भ्यूटावरे बिकासका नाममा भोटको राजनीति गरिरहने हो भने निकट भविष्यमै
अत्यास लाग्दो विनाशको सामना गर्नुपर्नेछ । अपसोंस तर पनि आज बदनाम छ झापा बदनाम
छन् झापाली ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares