हुटिट्याउँ
फगत एक बित्ता अग्लो
पिर्का चढाइदिएपछि,
सारा सगर आफैंले थामेको
आत्मरतिमा स्वस्खलित हुँदै,
तन्क्क तन्केर
सलामी खान्छन् हुटिट्याउँहरू!
हुटिट्याउँहरूलाई लाग्छ,
धन्न हामीले रातो टालो कुल्चेर
सलामी खाइदिनाले पो
बाँचेको छ नेपाल,
र बाँचेका छन् तमाम नेपालीहरू!
नालापानीमा भोकभोकै लड्दा
न बलभद्रले पाए सलामी,
न अमरसिंह न भक्ति थापाले थाहा पाए,
क्या हो सलामी!
आजकाल निर्यात गरेर सग्लो
भर्भराउँदो ठिटो ,
बाकसमा नि:शब्द देहसँगै
भित्र्याउने गरेकाले बिटो,
सत्ताको शिखर चुम्न छिटो छिटो,
जो गर्दछ रात दिन
तिरंगी र फिरंगीको गुलामी,
उही हुटिट्याउँ मरिहत्ते गर्छ खान,
चार अंगुलको पिर्का चढेर सलामी!
अमृत खरेल ।
२०७९।९।२४