लेखक – भूमि देवकोटा
ल भन तिमी को हौ !?
दशैँ हो कि निर्वाचन
कचौरामा दुइटा खुन्टा सितन
लिएर आयो ।
बटारे पानी
ग्लासमा भरिएर आयो ।
जनता जनार्दनको भाउ
यसपटक, झन घटेर आयो ।
नेता हो कि गोठालो
छिमेकको कन्नानी
समातेर आयो ।
दर्शन, बिचार, राजनीति
गठबन्धने अगेनामा
आहुति दिएर आयो ।
असलमा निर्वाचन
छोरी बोकेर आयो, •••,
भाइ लिएर आयो ।
समानुपातिक फेरि
श्रीमती भएर आयो ।
आया राम गया राम
भएर आयो ।
खुलमखुला छाती खोलेर
लेण्डुप भएर आयो ।
बुढो, रोगी त हुँदै हो
दलाल भएर आयो ।
एमसिसि, एसपिपि
काँध थापेर आयो ।
फेरि पनि, दासहरूको फूलमाला
भिरेर आयो ।
देशको मूल धमनीमा
सुँड धसेर आयो ।
बाँकि रेमिटेन्स
हसुरेर आयो ।
जनताको सबै
छिनालेर नसा
तनतनी पिउँने भएर आयो ।
यसपटक निर्वाचन
झन क्रुर भएर आयो ।
ठ्याउकेहरू
नयाँ कोटरी खोलेर
पुरानाहरू रोइलो फेरर
देश हसुर्न, एकै मतो कसेर
स्वर भने अलग भएर आयो ।
सहिद, घाइते,वेपत्ता
जेलनेलको स्तोत्र पाठ
उहिलै सकेर आयो ।
बाँकी, जनतालाई झुक्याउन
फेरि पनि
सक्ने भएर आयो ।
खसी बजार सम्झेर
घाँस बोकेर आयो ।
ठाउँ फेरीफेरी
गर्धन नाप्तै नाप्तै आयो ।
दशैँ हो कि निर्वाचन
कचौरामा दुइटा खुन्टा सितन
लिएर आयो ।
अब खसी र मानिस बीच
पहिचान बन्ने भएर आयो ।
यो निर्वाचन !
तिमीले खसी वा मानिस
भन्नै पर्ने भएर आयो ।
तसर्थ,
ल भन तिमी को हौ !?