लेखक: चिरन कोइराला
सिक्किमः
एउटा सार्वभौम देश कसरी अर्को देशमा विलय हुन्छ भन्ने इतिहास छ सिक्किमको ।
हाल भारतको एक प्रान्तको रुपमा रहेको सिक्किम कुनै बेला एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । भारतले लेन्डुप दोर्जेको पार्टीलाई ३२ मध्ये ३१ सिटमा चालपुर्वक चुनाव जिताई संसद्को निर्णयबाट सिक्किमलाई भारतमा विलय गराउने फैसला गराउन प्रमुख भूमिका खेलेको थियो । पछि सिक्किम भारतमा विलय भयो । सिक्किम भन्ने देश विश्व मानचित्रमा अहिले भेटिदैन ।
फिजीः
नागरिकता र बसाइसराइबाट जनसंख्याको स्वरुप नै परिवर्तन गरी कसरी सत्ताकब्जा हुन्छ भन्ने इतिहास छ फिजीको ।
सात समुद्रपारिको फिजीमा सन् १८७९ मा योजनावद्ध रुपमा ३१ जना भारतीय कामदार पुर्याएर गरिएको बसाइसराइबाट भारतीयको बसोबास सुरु भएको पाइन्छ । फिजीमा त्यसपछि भारतबाट क्रमशः कामको लागि भनेर आप्रवासनलाई तीव्र बनाइयो । क्रमशः फिजीको तत्कालीन सरकारलाई आप्रवासी भारतीयलाई फिजीको नागरिकता दिन दबाब दिएर बाध्य पारिएको बताइन्छ । यसकै कारण सन् १९८० तिर भारतीय मूलका मानिसको संख्या रैथाने फिजियन मूलका भन्दा धेरै हुन पुगेको अनुमान गरिएको थियो । जसको असर फिजीको संविधान प्रक्रियामा पर्यो । फलस्वरुपः फिजीमा रहेका र नागरिकता नपाएका सम्पूर्ण भारतीय आप्रवासीलाई नागरिकता दिने व्यवस्था गरियाे । यो सबैको परिणाम चुनावमा देखियो । निर्वाचनले भारतीय मूलका महेन्द्रपाल चौधरी सन् १९९९ मा प्रधानमन्त्रीका रूपमा निर्वाचित भए । यसलाई भारतले फिजीको सत्ता र स्रोतलाई आफ्नो कब्जामा लिन गरेको प्रयासका रूपमा इतिहासमा व्याख्या गरिने गरेको पाइन्छ ।
क्राइमियाः
एक देशको एउटा भूभागलाई अलग गरी कुनै अर्को देशमा कसरी गाभ्ने काम हुन्छ भन्ने इतिहास छ क्राइमियाको ।
सन् १९५४ मा रसियन शासक ख्रुश्चेभले क्राइमियालाई तत्कालीन रसियन फेडेरेसनअन्तर्गतको युक्रेनलाई उपहारको रूपमा दिएका थिए । करिब ६० प्रतिशत रसियन र ४० प्रतिशत अन्य जातजातिका मानिसको बसोबास भएको क्राइमियावासीलाई यो हस्तान्तरण स्वीकार गर्न कठिन थियो । जब १९९१ मा युक्रेन स्वतन्त्र राष्ट्र बन्यो, रसियाले उपहारमा दिएको क्राइमिया पनि युक्रेनको अंग बन्न पुग्यो । आर्थिक र सामरिक महत्व भएको क्राइमियालाई युक्रेनको भागमा राखिनु रसियाका लागि उचित थिएन । त्यसभित्रको जनसंख्याको हिस्सालाई लिएर रसियाले सन् २०१४ मा क्राइमियालाइ स्वतन्त्र गरायो फलस्वरुप युक्रेनबाट क्राइमिया स्वतन्त्र हुने निर्णय लियो तथा टुक्रियो ।
ताइवानः
दुई विशाल मुलुकको कोपभाजनमा कसरी परीन्छ भन्ने इतिहास छ ताइवानको ।
सन् १८९५ मा चीन र जापानबीच भएको सन्धि अनुसार नै ताइवान जापानको स्वामित्वमा गएको थियो। सन् १९२८ देखि १९४९ सम्म चीनको सर्वोच्च शासक रहेका च्याङकाइसेकले जापान विरोधी युद्धको नेतृत्व गरे । दोस्रो विश्व युद्धमा पनि जापान विरोधी मोर्चामा संलग्न रही जापान नियन्त्रित चीनको मन्चुरिया, ताइवान र ताइवान जलमार्गमा अवस्थित पेस्काडोरेस टापु समूहमाथि चिनियाँ स्वामित्व स्वीकार गराउन अमेरिका, ब्रिटेनसँग सघन र सफल कूटनीतिक भूमिका निर्वाह गरेका थिए । आज ताइवानमा चीन र अमेरिकाको वाकयुद्ध चलिरहेको छ ।
श्रीलंकाः
हिन्द महासागरस्थित टापु राष्ट्र श्रीलंका आर्थिक रूपमा टाट पल्टिएको छ । श्रीलंकाले इन्धन, औषधि, खाद्यान्न जस्ता आधारभूत वस्तु आयात गर्नसमेत सकेको छैन । १९४८ मा बेलायतबाट स्वतन्त्र भएको श्रीलंका इतिहासमै सबैभन्दा ठूलो आर्थिक संकटमा परेको छ । शासनमा परिवारवादले कसरी देश खोक्रो बनाउँछ एवं एउटा सवल मुलुक कसरी विदेशीको ऋणपासोमा पर्छ भन्ने देखाउँछ श्रीलंकाको वर्तमान अवस्थाले ।
युक्रेनः
एउटा विशाल ऊर्भर भूमि भएको मुलुक कसरी खराव नेतृत्व र कुटनीतिक असफलताको जंजिरमा फसेर ध्वस्त हुदै जान्छ एवं स्वार्थ समुहहरुले कसरी आफ्नो स्वार्थ पुर्ति गर्छन भन्ने राम्रो उदाहरण भएको छ युक्रेन ।
अफगानिस्तानः
आन्तरिक द्वन्द्व एवं विदेशीको इसारामा कसरी एउटा देश कुशासन र गरिवीको दुष्चक्रमा पर्दछ भन्ने उदाहरण हो अफगानिस्तान ।