
काठमाडौं- विभिन्न परिस्थिति र राजनैतिक मोडहरू पार गर्दै आएको नेकपा माओवादी केन्द्रले आफ्नो हालको नाम परिवर्तन गर्ने सोचमा छ। हुन त यो पार्टीको यसभन्दा अगाडीका कार्यनीति र रणनीति अनुसार आफ्नो अभिष्ट पुरा गर्न नाम र दस्तावेजहरू छिटो-छिटो परिवर्तन गर्ने गरेको छ।
किन यो पार्टी पटक-पटक आफ्नो नाम परिवर्तन गरिरहन्छ ? के उसको रणनीति,कार्यनीति र सिद्धान्त अनुरूप अव नेपालमा यो नामको अस्तित्व समाप्त भएकै हो त ? कि संसदीय व्यवस्थामा आएपछि यो नामबाट जनता आकर्षित नभएकाले नाम परिवर्तन गर्न खोजिएको हो ? यही नाम फेरेर मात्र जनताको मत आउने भए , नेपाली इतिहास बाट उसले आफ्नो जनयुद्धको इतिहास कसरी मेटाउछ ? कि केही नेताहरूलाई यो नामबाट आपत्ति भएर अर्थात कम्युनिष्ट नेताहरूको आदर्श नेपाली समाजमा बिक्न छोडेर नाम फेर्न खोजिदैछ ! वा विदेशीहरूको अभिष्ट पुरा भैसकेपछि उनीहरूलाई खुसी पार्न नाम फेर्न खोजिदैछ ?
यावत प्रश्नको जवाफ त मिठामिठा शब्दजाल बुनेर आउलान् (०७९ को चुनावपछि केहि पात्रहरूको पार्टी एकीकरण हुदाँ ) अथवा नआउन पनि सक्छ किनकी यिनीहरूको भाषणमा सुनिने नागरिक शब्द र यथार्थमा नागरिकप्रतिको व्यवहारमा कोसौं अन्तर भेटिन्छ। प्रजातन्त्रवादीको खोलमा अधिनायकबादी भन्ने खालका टिकाटिप्पणी जनस्तरमा प्रसस्तै सुन्न पाइन्छ।
स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र )ले चुनावपछि केही पात्रका पार्टीहरूसंग पार्टी एकता गरेर प्रचण्ड अध्यक्ष बन्ने गरी “नेपाल कम्युनिष्ट समाजवादी केन्द्र ” राख्दैछ। स्मरणीय कुरा के छ भने नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टी एकता हुदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आफ्नो नामको अस्तित्व विसर्जन गरिसकेको छ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            