Thursday, April 25
Shadow

बर्षातका बाटाहरु


  • -इ
  • इ+

जब हिलोको गन्ध आउन थाल्छ तब सुरु हुन्छन झ्याउँकिरिका झ्याँइझ्याँइ,भ्यागुताका ट्वारट्वार अनि गाउँमा सुरु हुन्छ असार । भाखाहरु घन्किन थाल्छन । बर्षातीहरु तयारी हुन थाल्छन ,अनि सुरु हुन्छ असार ।

खेतको बिचमा मात्र हरियो हुन्छ । केही थान टाउकाहरु कोदालीले डिल हाल्दै देखिन्छन केही थान राता लुगा लगाएका टाउकाहरु घाँसका भारीका साथ उकाली लाग्छन । अनि सुरु हुन्छ असार ।

धिप धिप पानीका फोकाहरु,खहरेका सुसेलीहरु अनि बियाढका बिउ माथीको हावाको बयली, साच्चै असार बर्षातको समय हो । कसैले बनाउन नसक्ने बाटाहरु बर्षातले बनाउँछ । कसैले फुटाउन नसकेका चट्टान बर्षात ले फुटाउछ । खहरेलाई बाटो खहरेले बनाउछन,खोलाहरुले बालुवाका भुल्काहरुलाइ आफुसँगै अनन्त यात्रामा लिएर जान्छन । बर्षातका बाटाहरु नत कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । अनन्त यात्रामा निस्किएका बर्षातहरु धर्तीलाई सिँचित गर्छन र त असार आउँछ । गोठाला र भरियाहरुले उकाली र देउरालीका डिलमा बसेर दिल छुने गित गाउँछन,किसानले आफ्नो पसिनाले भुमिलाइ सिँचित गर्छन,अनि बादलले आफ्ना कणहरुले धर्तिको प्यास मेट्ने समयनै असार हो । दिन भरी भिजेका शरीरलाई गोठको न्यानोमा घुसाउँदै मुख बहाउँदै निदाएका गोरुहरुको निद्राले असारको परिचय दिन्छन। चुरे पर्वतको शिरबाट सारा संसारनै मेरो हो जसरी ओरालो लागेका सेता दूध गंगाले असारको आभास गराउँछ। मसिना पानीका कणलाई साथमा लिएर आउने हावाका झोँकाहरुलाइ महसुस गर्दा साँच्चै बर्षातको मीठो आभास हुन्छ । मुसलधरे पानीका लर्को लाई बर्षातीले छेक्दै आकासलाई हेर्नुको मज्जाले असारको वास्तबिकतालाइ बोकेको छ। बर्षात पछिको आकाशमा लागेको जूनको टहटहलाई हेर्दै झ्याँउकिरिको झ्याँइझ्याँइमा निदाउने समय हो असार ।

खहरेका भेललाई छिचोल्दै निथ्रुक्क भिजेको पँखेटालाई झट्कार्दै गुँड फर्किएका जोडिहरुलाइ सोध्दा थाहा हुन्छ असार के हो। घुमाउरो गह्रामा घुमीघुमी जोतेर थाकेको ज्यानमा गोठ फर्किएका हललाई सोध्दा थाहा हुन्छ असारको वास्तबिकता। हलोको चेपमा जुगालाइ राखेर
काँधमा राखेर कलात्मक रुपमा बुट्टा भरिएको खुर्पेटो कम्बरमा भिरेको मान्छेलाइ सोध्दा थाहा हुन्छ असारको गरिमा केहो । भर्खरै बजारबाट नुनको भारी बोकेर चौतारिको डिलमा भारी बिसाउदै पसिना पुछ्दै गरेको मान्छेलाइ सोध्दा थाहा हुन्छ असार लाग्नुको चटारो के हो। र अनि आफ्नु भिजेको ज्यान हेर्दै बाउसो काँधमा राखेर उकाली लाग्नुले भन्छ असार के हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares