काठमाण्डौँ, मंसिर २३
दाङ जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी आएको छ भने मूल्यमा वृद्धि भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएकोमा चिन्तित बनेका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ ।
उत्पादन लिन नसकिने भएपछि अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ ।
यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । यस बर्ष हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको छ । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भएको थियो ।