काठमाडौं, माघ २९ । पश्चिमी वायुको प्रभावका कारण नेपालमा अबका तीन दिन मौसम बदली हुने मौसमविदले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आए कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद प्रतिभा मानन्धरले बताएकी छिन् । आज काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने जनाइएको छ ।
दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ । आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–१ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।