Thursday, April 25
Shadow

पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने


  • -इ
  • इ+

काठमाडौं, पुस २४ । पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ ।

पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए ।

यही पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रुपमा चढाउने परम्परा छ । यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ ।

शनिबार बिहानदेखि आइतबार बिहानीपखसम्म धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले जानकारी दिए । आइतबार बिहान छ बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोग समेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुसी पार्न महिना अनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा विदुर पौडेल बताउँछन् ।

पूजापछि भगवान शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले सुनाए । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares