Wednesday, April 24
Shadow

दाङका धार्मिकस्थलमा माघी मेला नलाग्ने


  • -इ
  • इ+


काठमाणडौं, पुष १८

कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन् । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो ।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताउनुभयो । उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक करिब २०० भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताए । यहाँ मेलामा भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुला हुने गरेको छ ।

लमहीको रिहारस्थित तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस ठाउँमा हरेक वर्ष पुसको २५ गतेबाट चहलपहल शुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ । थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामाभान्जी मन्दिर, तप्तकुण्ड (तातोपानी पोखरी), घ्यू पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट २५ किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन् ।

दाङका धार्मिकस्थलमा अघिल्ला वर्षहरूमा माघीमा मेला एक महिनाअघिदेखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम नभएको र नयाँ रूपमा कोरोना संसारभर आइरहेको समयमा जिल्लामा पनि सजगता अपनाउन जरुरी रहेको भन्दै उनले यस्तो आग्रह गरे । “भीडभाड हुने कार्यक्रम गर्ने समय छैन । त्यसैले सामाजिक दूरी कायम नहुने माघीको मेला लाग्ने अवस्था छैन्”, उनले भने ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares