Friday, March 29
Shadow

बोइङ्गका ग्राउण्डेड विमान उड्न थाले


  • -इ
  • इ+

काठमाणडौं, पुष १८ 

दुई वर्षअघि भएका मानवीय क्षतिसहितका दुईवटा ठूला दुर्घटनापछि ग्राउण्डेड विमानहरूलाई अमेरिकन एअरलाइन्सले उडाउन थालेको छ । २०१९ को मार्चदेखि विश्वव्यापी उडानमा रोक लगाइएका बोइङ्गका ७३७ म्याक्स विमानलाई अमेरिकी एयरलाइन्सले हालै मायामीबाट न्यूयोर्कतर्फ उडान नं. ७१८ मा प्रयोग गरेको हो ।

अमेरिकी हवाई उडानसम्बन्धी नियामक निकायले बोइङ्गका ७३७ म्याक्स विमानमाथि लगाएको झण्डै दुई वर्षको उडान प्रतिबन्ध हटाएको हो । उक्त सिरिजका विमानलाई २०१९ को मार्चमा इण्डोनेशिया र लगत्तै इथियोपियाका छुट्टाछुट्टै दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विश्वव्यापी उडानमा प्रतिबन्ध लगाइएको थियो ।

प्राप्त समाचारमा जनाइएअनुसार प्राविधिक कमजोरी र दुर्घटनाबारे व्यापक अनुसन्धानपश्चात् विमानमा नयाँ उपकरण थप गरेर उडान हुन थालेको हो । दुर्घटनापछि अमेरिकी सांसद तथा हवाई सुरक्षा अधिकारीहरूले उक्त विमानको चर्को आलोचना गर्दै आएका छन् । निर्माता कम्पनी बोइङ्ग र सम्बद्ध कम्पनीहरूले नयाँ सफ्टवेयर हाल्ने,विमानभित्रका तारलाई थप व्यवस्थित गर्नेलगायतका काम गरेपछि पुनः उडानको लागि योग्य भएको बताइन्छ ।

तर, दुईवटा उडानमा मारिएकाहरूको परिवारले भने बोइङ्ग कम्पनी र अमेरिकी अधिकारीहरूले ७३७ म्याक्स विमान अझैपनि उडानको लागि योग्य नभएको बताएका छन् । उनीहरूले गत साता अमेरिकी सांसदहरूलाई लेखेको पत्रमा भनिएको छ ‘सम्पूर्ण प्रमाणीकरण प्रक्रिया नै शंकास्पद देखिन्छ’ । यता,सिनेटको एउटा समितिले पनि हवाई उडानमा सावधानी र सुरक्षाको ग्यारेण्टी गर्न नसकेको भन्दै बोइङ्ग कम्पनी र संघीय हवाई उडान नियमनकारी निकायको आलोचना गर्दै हालै एउटा प्रतिवेदन नै सार्वजनिक गरेका छन् ।

उक्त विमानमाथि विश्वव्यापी उडानमा प्रतिबन्ध लागेपछि बोइङ्गको आम्दानी र विश्वसनीयतामाथि नै धक्का लागेको थियो । त्यसैगरी त्यो सिरिजका सबैभन्दा धेरै विमान रहेका अमेरिकी विमान कम्पनीहरूले पनि ठूलै घाटा व्यहोरेका थिए । पछिल्लो एक वर्षदेखि कोभिड–१९ महामारीको कारण हवाई उडान व्यवसाय ठप्प भएपछि बोइङ्ग र विमान कम्पनीहरू थप मारमा परे । त्यसैले अहिले ग्राउण्डेड विमानलाई आवश्यक मर्मत सम्भार पश्चात् उडान गर्न दिने रणनीति बनाइएको हुनसक्ने हवाई सुरक्षा अधिकारीहरूले आलोचनात्क टिप्पणी गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares