Wednesday, April 24
Shadow

आज उधौली र तमु ल्होसार पर्व मनाइँदै


  • -इ
  • इ+

काठमाडौँ, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।

किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

तमु ल्होसार मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares