काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।
शनिबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसद्सम्म विरोध भैरहँदासमेत लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको छ कि भन्ने प्रश्न उठेको बताए ।
उनले भने, ‘चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको छ ।’ कोइरालाले रवि लामिछानेले तत्कालका लागि पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै भने, ‘उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’
सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको समेत नेता कोइरालाले बताए । उनले हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            