Monday, April 29
Shadow

राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान


  • -इ
  • इ+

 

जनकपुरधाम – मधेश प्रदेशमा रिक्त रहेको अन्य र महिला तर्फको राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानमा दुई जना मतदाता बाहेक सबैले मतदान गरेका छन् ।

बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय रहेकोमा हालसम्ममा प्रदेशसभा तर्फका १०६ जना मतदाताले मतदान गरेका छन् भने स्थानीय तर्फ २६६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनु भएको छ ।

मधेश प्रदेशमा कूल मतदाता ३ सय ७४ रहेकोमा हालसम्म ३ सय ७२ जनाले मतदान गरेको उहाँले जानकारी दिनु भयो ।

मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा अहिलेसम्म एकजना बाहेक सबैले मतदान गर्नु भएको छ । महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्या काण्डमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशमा निर्वाचित प्रदेश सभाका सदस्य अभिराम शर्मालाई जन्म कैद सुनाएको कारणले उहाँ हालसम्म मतदान गर्नु भएको छैन ।

यसै गरि स्थानीय तह तर्फ २ सय ६७ जना मतदाता रहेकोमा एकजनाले मतदान गरेका छैनन् । मतदान नगर्नेमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका श्रीमती नेकपा एमालेबाट रौतहटको मौलापुर नगरपालिकामा निर्वाचित हुनु भएको नगरप्रमुख रीता कुमारी साहले मतदान नगरको श्रोतले जनाएका छन् ।

मधेस प्रदेशमा २ पदका लागि निर्वाचन भइरहेकोमा ५ जना उम्मेदवार छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुङ्गाना उम्मेदवार छन् भने जसपाबाट महिला तर्फ पूजा चौधरी उम्मेदवार रहनु भएको छ ।

यस्तै, नेकपा एमालेबाट अन्य तर्फ कुमारी विजेता झा रहनु भएको छ भने महिला तर्फ उषा देवी थरुनी रहनु भएको छ । जनमत पार्टीबाट अन्य तर्फ राम शङ्कर महासेठ उम्मेदवार रहनु भएको छ । आम जनता पार्टीले विभिन्न मागहरू गरेर गरेको विरोधको कारणले जनकपुरधाममा बिहान देखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares