Saturday, April 27
Shadow

नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ


  • -इ
  • इ+

२८ असार ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका हरेक नागरीकले स्वास्थ्य बिमा गर्दा १५ प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । साथै विपन्न, अशक्त, अशहाय र लक्षित वर्गको लागि निःशुल्क वीमा गरिदिने हामि संगको अन्र्तवार्तामा नगर प्रमुख जगत वहादुर गुरुङले बताएका छन् ।

स्थानिय तहको निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ विजयी भएका मेयर गुरुङले आफ्नो कार्यकालमा बेलकोटगढी नगरपालिकालाई भौतिक विकासलाई निरन्तरता दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना बनाउने लक्ष्य समेत राखेका छन् । समग्र बेलकोटगढी नगरपालिका केन्द्रित भएर गरिएको कुराकानी…

तपाई निर्वाचित हुनुभएको एक वर्ष पुरा भईसक्यो निर्वाचनका समयमा जनता माझ गरेका प्रतिवद्धता कत्तिको पुरा गर्दै हुनुहुन्छ ?
निर्वाचित भएको पहिलो वर्ष सिकाईमा नै लाग्यौँ । त्यस संगै बेलकोटगढीको समृद्धि संगै सुशासनका कुरालाई मध्ये नजर गर्दै अघिल्ला जनप्रतिनिधिले गरेका कामलाई हेरेर हामिले जनताको आवश्यकतालाई मध्येनजर गरेर पहिलो नीति तथा कार्यक्रम बनायौँ र त्यसको कार्यान्वयनमा नै पहिलो वर्ष बित्यो । हामिले आफूले आफैलाई स्वमूल्यांकन गर्दा पहिलो वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सफल भएको छौँ । शिक्षा, स्वास्थ्य, कृषिमा अन्य पालिका भन्दा हामिले नविनतम प्रयासहरु गरिरहेका छौँ । नयाँ नयाँ प्रविधिहरुको खोजी गर्दै आधुनिकता तर्फ बेलकोटगढी नगरपालिका अगाडी बढिरहेको छ ।

पूर्वाधारमा देखिने विकास के के गर्नुभयो ?
हामिले गत एक वर्षमा पूर्वाधार विकाशमा ७५ प्रतिशत काम गरेका छौँ । जनताले प्रत्यक्ष देख्ने र महशुस गर्ने विकास भनेको सडक हो । त्यसमा हामिले १३ वटै वडाका सडक स्तरउन्नति देखि पक्कि बनाउने काम गरिरहेका छौँ । नयाँ सडक खोल्ने काम बन्द गरि भएका सडकलाई व्यवस्थीत गर्ने काम गरिरहेका छौँ ।

संघ, प्रदेश र स्थानिय सरकार बिच कतिपय कानुनहरु बाझिएको भन्ने गुनासो अन्य पालिकाहरुबाट आईरहेको छ । तपाईलाई त्यस्तो महशुस भएको छ ?
कतिपय ऐन कानुनहरु संशोधन हुनु पर्ने अवस्थामा छ । महिले यस विषयमा पटक पटक आवाज उठाउने गरेको पनि छु । हाम्रा प्राकृतिक स्रोत साधन उपयोग गर्न पाईरहेका छैनौ । जस्तो हाम्रा जंगलमा पुराना रुखहरु ढलेर कुहिरहेको छ हामिले त्यसको उपयोग गर्न सकिने अवस्था समेत छैन । त्यो संग ढुंगा, गिट्टी, बालुवामा पनि समस्या रहेको छ । प्रदेश सरकारले जिल्ला समन्वयलाई अनुगमनको अधिकार दिएको छ । तर अनुगमन मात्र गरेर भएन त्यसलाई नियमनको काम पनि गर्नु पर्यो । त्यस किसिमको अधिकार पनि संघ र प्रदेशले बनाउन आवश्यक छ । ऐन त बन्यो तर नियमावलीहरु अझै बन्न सकेको छैन । त्यस कारण पनि हामिलाई काम असहज छ ।

कृषि तर्फ तपाई निर्वाचित भए देखि नै धेरै प्रयासहरु गरिरहनु भएको छ, प्रगति कस्तो रह्यो ?
सुरुवातमा हामिले हाम्रो भूगोलको अध्ययन गर्यौ । फरक फरक खालको भूगोल रहेको हाम्रो पालिकामा सोहि अनुसारको हावा पानि रहेको छ । त्यस अनुकुलको कृषि उत्पादनमा हामिले जोड दियौँ । कृषिमा नयाँ नयाँ प्रविधिको प्रयोग गरिरहेका छौँ । कृषकका आवश्यकता अनुसार बिउँ बिजन वितरण, तालिमहरु प्रदान गरिरहेका छौँ । त्यसले पनि कृषिमा धेरै सुधारका काम भईरहेको छ । कृषिमा बालि र पशु कृषि गरि दुई प्रकारले अगाडी बढेको छ । बेलकोटगढीमा पशु कृषिको सम्भावना बढी रहेको छ । दुध र मासुमा पकेट क्षेत्रको सम्भावना पनि यस नगरपालिकामा रहेको छ । बालि खेतिको विकाश गर्न मौसमि संगै बेमौसमि खेतिलाई जोड दिन आवश्यक छ । त्यसका साथै हामिले हाम्रै ठाउँमा बिउँ उत्पादन गर्ने हो भने त्यसबाट अझै बढि आम्दानी गर्न सकिन्छ भनेर त्यस तर्फ हामि केन्द्रित छौँ ।

शिक्षा र स्वास्थ्यमा नगरवासिको पहुँच कस्तो रहेको छ ?
स्वास्थ्यलाई हामिले एउटा गम्भिर चुनौतिको रुपमा लिएका छौँ । किनकि हाम्रो नगरपालिका अन्य नगरपालिका जस्तो विकसित छैन । दुरदराजमा वस्तीहरु रहेका छन् । त्यस्ता क्षेत्रमा कसरी सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने भन्ने हामिलाई ठूलो चुनौति रहेको छ । म निर्वाचित भएर आउँदा कतिपए स्वास्थ्य चौकीहरुमा सिटामोल समेत पर्याप्त मात्रामा थिएन । त्यसको अन्त्यका लागि मैले सुरुवातमा नै यस नगरपालिका भित्र औषधिको अभाव हुन नदिन र सहज एम्बुलेन्स सेवाको लागि एम्बुलेन्स खरिद गरि सहज स्वास्थ्य सेवा प्रदान गर्ने कार्य अगाडी बढाए । सुस्तकेरी महिलाको सहजताका लागि ६ वटा स्वास्थ्य चौकीमा ब्रथिंग सेन्टर सहित सेवा प्रवाह गर्ने भनेकोमा ४ वटामा संचालन भईसकेको छ र बाँकी २ वटा छिट्टै संचालनमा आउदैँछ । ३ वटा एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरण पुगेको छ र केहि दिनमा नै एम्बुलेन्स आउँदै छ । १३ वटै वडामा स्वास्थ्य केन्द्र संचालनमा छन् ।हरेक नगरवासिको स्वास्थ्य विमामा १५ प्रतिशत अनुदान दिने र लक्षित वर्गलाई निःशुल्क विमा गर्नेछौँ । शिक्षा क्षेत्रको सुधारमा हामिले नुवाकोट जिल्लामा नै आयामीक कार्य गरेका छौँ । विद्यालयमा हुने बेथितिको अन्त्य गरेका छौँ । आगामी आर्थिक वर्ष भित्रमा विद्यालयमा रहेका निजि स्रोतका शिक्षक हटाउने कार्य सम्पन्न गर्नेछौँ । प्रविधि युक्त र व्यवहारीक शिक्षामा हामिले जोड दिईरहेका छौँ । स्थानिय पाठ्यक्रम तयारीको अन्तिम चरणमा छ र यहि शैक्षिक शत्रबाट पठनपाठनमा आउँदै छ । त्यस कारण पनि हाम्रो बेलकोटगढीको शैक्षिक सुधारको काम उत्कृष्ट छ भनेर हामि दाबि गर्न सक्छौँ ।

बेलकोटगढीलाई तपाईको कार्यकालमा कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
भौतिक संरचनाको विकासलाई निरन्तरता दिदैँ जाने साथै मेरो कार्यकालमा प्रत्येक वडा कार्यालय जोड्ने पक्कि सडक निर्माण गर्ने, स्वास्थ्यको पहुँचबाट कोहि पनि नागरीकलाई बञ्चित नगराउने साथै शिक्षामा अझैबढी सुधारका काम गर्ने लक्ष्य छ । जनताले महशुस गर्न सक्ने खालको स्थानिय सरकार बनाउने र यस पालिकालाई सुधारीएको नमुना पालिका बनाउने योजना छ ।

समाजसेवामा आफ्नो समय व्यतित गरिरहनुभएको तपाईलाई राजनीतिमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
राजनीतिलाई नै समाज सेवाको रुपमा लिए र राजनीतिलाई कहिले पनि पेशाको रुपमा मैलै लिईन । राजनीतिलाई नै समाज सेवा बनाएको ले राजनीतिमा नै निरन्तर छु । पदमा रहदाँ वा नरहदाँ पनि राजनीतिबाट नै समाज सेवा निरन्तर रहन्छ ।

पर्यटन प्रवद्र्धनका लागि कस्तो नीति बनाउदैँ हुनुहुन्छ ?
बेलकोटगढी आफैमा पर्यटकीय सम्भावना भएको नगरपालिका हो । हामिले यहाँ भएका धार्मिक, पुरातात्दीक, ऐतिहासिक सम्पदा र प्राकृतिक स्रोत साधनको सम्वद्र्धन र प्रवद्र्धन गरेर पर्यटकिय क्षेत्रको विकास गरिरहेका छौँ । आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै हेमस्टे निर्माणका कार्यलाई नीति तथा कार्यक्रममा नै समावेश गरेका छौँ । यहाँको पहिचान झल्कने अर्गानिक खानाका परिकारलाई प्रवद्र्धन गर्ने लगाएतका योजना रहेको छ ।

अन्तिममा, संघियताको बारेमा विभिन्न टिकाटिप्पणीहरु हुने गरेका छन् यसलाई तपाईले कसरी लिनुभएको छ ?
मान्छेहरुले संघियता बारे आ आफ्नो तर्फ दिदैँ आएका छन् । तर संघियता नहुने थियो भने जनताले अहिले भएका विकास र परिवर्त देख्न पाउने थिएनन् । संविधानत आएको संघियताको विरोध गर्नु भनेको देश विकासको नै विरोध गर्नुको रुपमा मैले बुझेको छु । तर संघियताको मर्म अनुसार विकास हुन नसक्नुमा नेतृत्व तहको पनि कमिकमजोरी रहेको छ । त्यसलाई भने सुधार गर्नु आवश्यक छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares