काठमाडौं, पुस ७ । जिल्ला अस्पताल त्रिशूलीमा आईसीयू सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डेले जानकारी दिए ।
वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी छन्। योसँगै अब अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।
अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ ।
अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन्दा उपचारका लागि आउने गर्छन् । अस्पतालले कोरोनाका गम्भीर बिरामीलाई प्राथमिकतामा राख्दै आईसीयू सेवा दिने जनाएको छ ।-फाइल तस्बिर