काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज दिउँसो स्वदेश फर्कंदै छन् । भारतमा उपचार गराई उनी काठमाडौं फर्कन लागेका हुन् । उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।
गुल्मी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य भण्डारी आज दिउँसो नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौं नियमित उडानमार्फत नेपाल फर्कन लागेका हुन् ।
भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा करिब साढे दुई महिना उपचार गराएर सांसद भण्डारी स्वदेश फर्कन लागेका हुन् । भारतमा उनको मुख्य अपरेसनलगायत उपचार गरिएको मीनप्रसादले बताए । अब बाँकी उपचार र हेरचाह नेपालमै गरिने उनले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमै थप उपचार गराउने सांसद भण्डारीको इच्छापछि चिकित्सकसित सल्लाह गरी यहाँ ल्याउन लागिएको हो । ड्रेसिङलगायत कार्य यहीँ गरिने मीनप्रसादले बताए ।