गणतन्त्रकै कारणले लोप नहोस् संस्कृति !!
_______________________________
केही दिन अगाडि मित्र शंकर जी ले सम्यक दान महोत्सव बारेमा छलफलको लागि पाटनमा बोलाउनु भयो। गएँ, छलफलको विषयवस्तु थियो नेवारी बौद्ध परम्परा अनुसार काठमाडौमा प्रत्येक १२ वर्षमा हुने “सम्यक महादान महोत्सव” गणतन्त्र आएपछि आयोजना हुन नसकेकोले अब यो परम्परा लुप्त भएर जाने भएकोले यसलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर प्रबुद्ध बर्गहरुलाई जुटाएर सरसल्लाह गर्दै हुनुहुँदोरहेछ।
परम्परागत रूपमा सम्यक दान महोत्सवमा प्रमुख अतिथि गद्दीधारी राजाको आवश्यकता पर्दछ। त्यसैले सम्यक दान महोत्सव आयोजना गर्ने बारेमा उक्त छलफलमा धेरै थरीका बिचार आयो, कसैले गद्दीधारी नभए पनि राजा त राजै हो नी भारतमा त अहिलेसम्म राजवंशकै उत्तराधिकारीलाई राखेर साँस्कृतिक पर्व आयोजना गर्छन् भन्ने आयो कसैले होइन राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति बाट गराउनुपर्ने भन्ने आयो कसैले राष्ट्रपति त महिला छिन्, राजालाई त बोधिसत्वको रूपमा पुजा गर्ने हो महिलालाई बोधिसत्वको रूपमा लिनेे गरेको छैन ……… भन्ने विभिन्न थरीका तर्कवितर्क चल्यो।
नेवारी बौद्ध परम्परामा प्राचीन कालदेखि चल्दै आएको प्रत्येक १२ वर्षे सम्यक महादान परम्परा साँच्चै गणतन्त्र आएपछि अब बिस्तारै इतिहासमा सिमित हुने त होइन ? भन्ने मलाई लागिरहेको छ।
आजभन्दा झन्डै ७६ वर्ष अगाडि २००३ सालमा भारतीय थेरवादी बौद्ध भिक्षु धर्म रक्षित नेपाल घुम्न आएको रहेछ, त्यतिबेला उपत्यकामा सम्यक महादान महोत्सव भैरहेको रहेछ, उनको लागि यो रैथाने बिशिस्ट संस्कृति नौलो विषय थियो, त्यसैले महोत्सवमा सहभागी भएर उनलेे जे जे देखे आफ्नो यात्रा वृतान्तमा टिपेर राखेछ, त्यही यात्रा वृतान्तको एक अध्यायमा यसरी लेख्नुभएको रहेछ।
सम्यक दान महोत्सव
नागार्जुन पर्वतको यात्राबाट फर्केर दुई घन्टा आराम गसिकेपछि म ८ बजे पाटनको सम्यक दान महोत्सव हेर्न गएँ । पाटनका हरेक गल्लीमा बाजा बजिरहेका थिए । मानिसहरु बुद्ध भजन गाइरहेका थिए । बाटोभरि भगवान्का मूर्ति राखिएका थिए ।
धम्मलोक र म पहिले यमङ्गलम् विहार गयौं । धम्मलोकजी त्यहीँ बस्नुभयो । म भने बुद्धघोषजीलाई साथ लिएर नागबहालको मैदानमा पुगेँ । नागबहालमा नगरभरिका मूर्तिहरु एकत्रित गरिँदै थियो ।
आनागरिका चन्द्रशिलाले मलाई आफ्नो घरमा बास बसाउने व्यवस्था गरेकी थिइन् । उनको घर नागबहाल मैदाननजिकै थियो । उनको घरको माथिल्लो तलामा बसेर नागबहाल मैदानको उत्सव नियाल्न सकिन्थ्यो । तर, म चन्द्रशीलाको घरमा बसिनँ ।
मैदानमा चारैतिरका मानिसहरु मूर्ति बोकेर आए । सबैले मूर्ति आ-आफ्नो स्थानमा राखे । त्यसपछि हामी निदाउन भनेर यमङ्गलम् विहार गयौँ ।
अर्को दिन हामीले चन्द्रशीलाको घरमा खाना खायौं । दिउँसो हामी फेरि उत्सव हेर्न गयौं । मैदान खचाखच भरिएको थियो । खुट्टा राख्ने ठाउँ पनि थिएन । मैदानको चारैतिरका घरका माथिल्लो तलामा पनि मानिसको भिड थियो ।
हाम्रा लागि भनेर नजिकैको अङ्ग्रेजी स्कुलको माथिल्लो तलामा कुर्सीको प्रबन्ध गरिएको थियो ।
महोत्सवमा बालबालिका, महिला पुरूष सबै सजिएर आएका थिए । मूर्ति संरक्षकहरुले घाँघर र कोट लगाएका थिए । काँधमा एक सल पनि ओढेका थिए । टाउकोमा लाम्चो आकारको टोपी लगाएका थिए । उनीहरुका पछाडि मानिसहरु अग्लो छाता लिएर उभिएका थिए । छातामा पनि केही मन्त्र लेखिएका थिए । यस्ता छाता र मूर्ति संरक्षकको सङ्ख्या १० थियो ।
गुभाजुहरु आएर पूजा गर्न सुरू गरे । दान महोत्सव सुरू भएसँगै केही कन्या तथा महिलाहरु चामल लिएर आए । दान सुरु भएसँगै गुभाजुहरु आ-आफ्नो टोलको मूर्तिको अगाडि पुगे । त्यसपछि महिलाहरुले बोकेको चामलबाट दान दिन सुरू गरे । दान दिने र दान ग्रहण गर्नेहरूको सङ्ख्या अनगिन्ती थियो ।
विशेष गरी यो दान बज्राचार्य, शाक्यभिक्षु र गुभाजुलाई दिइन्छ । तर, कैयौं भिखारी पनि दान ग्रहण गर्ने लाइनमा बस्छन् । दान दिनेहरु बिस्तारै-बिस्तारै दान दिँदै अगाडि बढ्छन् । कतिपय त दानमा पैसा पनि दिन्छन् । एक समिति (गुठी) ले दानमा मालपुवा बाँड्छ ।
सम्यक दानको प्रथा कहिलेबाट चल्यो यकिनसाथ भन्न सकिँदैन । तर, सम्यक दान महोत्सव मनाउने तयारी भने
एक वर्षअगाडिबाटै सुरु हुन्छ । यो उत्सवलाई नेपालका मुख्य नगर, कान्तिपुर, पाटन र भादगाउँका विभिन्न स्थानमा मनाउने गरिन्छ । कान्तिपुरमा १२ वर्षमा, पाटनमा पाँच वर्षमा, भादगाउँमा तीन वर्षको अन्तरमा मनाइन्छ ।
कान्तिपुरमा उत्सव हुने एक वर्षअगाडि नै जसको घरमा दिपङ्कर भगवान्को मूर्ति हुन्छ, उसले स्वयम्भू चैत्य र राजालाई निमन्त्रणा दिनुपर्छ । यो निमन्त्रणा भनेको अर्को वर्ष महोत्सव हुने सूचनाजस्तै हो ।
उत्सवको एक महिनाअगाडि समिति बनाइन्छ । समितिले टोल-टोललाई काम बाँडफाँड गर्छ । सबै मानिस आफ्नो जातिअनुसारको काम गर्छन् । कसैले पनि आफ्नो जातीय धर्म उल्लङ्घन नगरोस् भनेर पनि उत्सवमा ख्याल गर्ने गरिन्छ ।
उत्सवमा हुने खर्चजति सबै सम्यक दान गर्ने व्यक्तिले व्यहोर्नुपर्छ ।
कान्तिपुरमा उत्सवको कार्य विभाजन यस प्रकार हुन्छ-
१. आँखा सफा गरेर उपासक खाना बनाउँछन् ।
२. असनका तुलाधर उपासक पत्तल बनाउँछन् ।
३. इतिम बहालका शाक्य भिक्षु मूलाको तरकारी बनाउँछन् ।
४. जनबहालका कंसाकार उर्दको दाल बनाउँछन् ।
५. उमरू टोलका मरीकौमी मिठाई बनाउँछन् ।
६. इतिमबहालका बनियाँहरु चिनीको सर्वत बनाउँछन् ।
७. कुमालहरू समान राख्नका लागि प्याला बनाउँछन् ।
८. चामल आदिको व्यवस्था सम्यक दान गर्ने व्यक्तिले गर्छ ।
उत्सवको १५ दिनअगावै मुलाको तरकारी बनाइन्छ । चार दिनअगाडि सबैलाई आ-आफ्नो कामअनुसारको समान बाँडिन्छ । उत्सव सुरू हुने तीन दिनअगाडिसम्म त सबै काम फत्ते गरिसक्नुपर्छ ।
नमोबुद्ध, नाला, पाटन, मत्स्येन्द्रनाथ, बज्रयोगिनी, खड्गयोगिनी आदि मन्दिरका मूर्ति हनुमानढोकाको मैदानमा ल्याउने गरिन्छ । यसरी मूर्ति ल्याउने काम उत्सव हुने दुई दिनअगाडिबाटै सुरू गरिन्छ । हनुमानढोकाको प्राङ्गणमा मूर्ति आएसँगै सम्यकदाताले सबै मूर्तिलाई प्रणाम गर्न सुरू गर्छन् ।
सम्यक दानको दिन बिहान ८ बजे नै बजागाजासहित सबै मूर्ति भूतखेलको मैदानमा लगिन्छ । भूतखेलको भूमि गोबरले लिपिएको हुन्छ । चकटी बिछ्याइएको हुन्छ । राजा पनि आउँछन् यहाँ । राजालाई त्यो चकटीमा उभ्याएर सम्यक दान दिने व्यक्तिको घरका दुईजना ज्येष्ठ महिलाले राजाको खुट्टा पखाल्छन् । राजाको पूजा गर्छन् ।
एक भाँडोमा फल, चामल, लावा हालेर राजाको टाउकोमा तीनपटक छर्किन्छन् । त्यसपछि दुईमध्ये पनि सानो महिलाले राजा उभिएको चकटीदेखि उनलाई बस्न बनाइएको सिंहासानअगाडिसम्म पानी छर्किन्छन् । अर्को महिलाले
आफ्नो घरको चाबी राजाको दाहिने हातमा थमाएर सिंहासनसम्म लैजान्छन् ।
राजा सिंहासनमा बसिसकेपछि मात्र सम्यक दान दिने घरका अन्य सदस्य आएर राजाको खुट्टाको पूजा गर्छन् । राजाले सम्यक दान दिने व्यक्तिलाई पापरितोषिक दिन्छन् । राजा फिर्ता भइसकेपछि अरुका लागि पनि सम्यक दान सुरु हुन्छ र नेपालमा उहिले उहिले सम्यक दान प्रशस्तै धन हुने बौद्धहरुले गर्थे । नेपाल उपत्यकाका सबै बौद्धलाई निमन्त्रित गरेर, सम्यक सम्बोधीको प्रार्थना गरेर दान दिने गर्थे । त्यतिखेर दानमा सबै मानिस बिनाहिचकिचाहट सम्मिलित हुन्थे र एकसाथ बसेर भोजन गर्थे ।
अहिले पनि त्यही प्रकारले गर्ने कोसिस भइरहेको छ । तर, अहिले सम्यक दान निकै विकृत भइसकेको छ । सम्यक दानका दिन मैले पाटनका धेरै बौद्ध उपासक रक्सीको नसामा चुर भएर बसेको देखें । अनागरिक चन्द्राशीलाका बुबा पनि मदिरा सेवन गरेर बसेका थिए ।
पाटन नागबहालको मैदानमा ज-जसले आफ्नो ठाउँबाट दिपङ्कर भगवान्को मूर्ति लिएर आएका थिए, उनीहरुले पनि यस्तै सम्यक दानबाटै ती मूर्ति बनाएका थिए । सम्यक दान दिनेहरुले नै यस्ता मूर्ति बनाउँछन्
भादगाउँको सम्यक दान महोत्सव पनि यसैगरी हुन्छ । तर, पाटन र कान्तिपुरको जस्तो विशाल भने हुँदैन ।
हामीले साँझ ४ बजेसम्म उत्सव हेर्यौं। यो उत्सवमा हामी खुसी नै भयौं । उत्सवको समयमा नेपाल आउन पाएकोमा मैले आफूलाई भाग्यशाली पनि ठानें । साँझ हामी फेरि आनन्दकुटी फर्कियौ।
(त्यो समयको नेपाल- त्रिपिटकाचार्य डा. भिक्षु धर्म रक्षित)