Saturday, April 20
Shadow

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु


  • -इ
  • इ+

काठमाडौं,साउन २१
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखी २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि प्रकृति र संस्कृति भन्ने नाराका साथ सम्पन्न हुदै छ ।

सवै संचार क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भर्चुअल मार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गर्नु भयो, सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रचलित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताउनुभयो ।
नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि बिभिन्न विधि, पद्धति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुपमा वन विनास भईरहेको स्मरण गर्दे आजसम्म आइपुग्दा सामुदायिक वनका माध्यमबाट वन तथा वातावरण र जैविक विविधताको संरक्षणका साथै सामुदायिक विकास र उद्यम विकासका माध्यमबाट जीविकोपार्जन र समृद्धि समेत योगदान हुँदै आइरहेको बताउनु भयो ।

विगत ५ दशकको अवधीमा नेपालमा अवलम्बन गरिएको सामुदायिक वन अभियानले विभिन्न आरोह अवरोहहरु पार गर्दै आएको बताउदै अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता समूहहरुले नेपालको वन व्यवस्थापनमा एक जिम्मेवार, सशक्त, समावेशी, सुशासनयुक्त र लोकतान्त्रिक नागरिक समाजको रुपमा आफूलाई स्थापित गराउन सफल भएका स्पष्ट पार्नुभयो ।
सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरसका कारण भएको गत वर्षको लकडाउन र यस वर्षको निषेधाज्ञाबाट प्रभावित विपन्न तथा गरिव र सिमान्तकृत एवं बेरोजगार परिवारका लागि खाद्यान्न राहत तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको, संक्रमितहरुलाई क्वारेन्टाइनका लागि सामुदायिक भवनहरु उपलब्ध गराइएको, स्थानीय सरकार मार्फत राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई सहयोग गर्ने र प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्यमा समेत उल्लेखनीय कार्यहरु गर्दै आएको जानकारी गराउनु भयो ।

हाल देशभर २२ हजार ४ सय ४५ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर सामुदायिक वन व्यवस्थापन गर्दै आएका छन्, जसमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरीहरु संलग्न रहेको बताउदै सामुदायिक वनका असल अभ्यास, सिकाई र योगदानहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत आदान प्रदान गर्न र आगामी गन्तव्य तय गर्नमा मद्धत मिल्ने अपेक्षा समेत गर्नुभयो ।

२०३० साल श्रावण २५ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानी उक्त दिनलाई सामुदायिक वन दिवसको रुपमा मनाइदै आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares