नमस्कार, म सुनिता कुमारी सहकारी, जन्म वि-स- २०५४ साल नेपालको दुर्गम जिल्ला भनेर चिनिने कालिकोटको नरहरीनाथ गाउँ पालिकामा जन्म लिए पश्चात् सानै उमेर देखि म अरुको सेवा गर्नुपर्छ भन्ने भावना जागृत भएर आउथ्यो । जब म कक्षा ८ मा अध्ययन गर्ने भए त्यतिबेला गाउँमा उपचार नपाएर, उपचारका गर्नका लागि सुर्खेत वा नेपालगन्ज लैजानुपर्ने, सामान्य सिटामोल समेत गाउँमा नपाइने अबस्था लाई नजिकबाट नियालेको थिए । मेरो मनमा अनेकौं कुराहरु खेल्थे, म जसरी भएपनि नर्सिङ पढ्नुपर्छ र बिरामीको सेवा गर्नुपर्छ भन्ने मनमा सोच्थे।
दिन बित्दै गए मैले गाउँको जनता माध्यमिक विद्यालयबाट २०६५ सालमा एस-एल-सी- दिए मेरो मनमा अब रिजल्टको पिरलो हुन लाग्यो त्यतिबेला रिजल्ट आउनपनि केही महिना ढिलो हुन्थ्यो, मनमा नर्सिङ पढ्न पाउछु कि पाउदिन, कतै फेल हुने त होइन जस्ता कुराहरु बादल मडारिए जस्तै खेलिरहेका हुन्थे । प्रतिक्षाको फल मीठो हुन्छ भनेजस्तो मेरो रिजल्ट पनि आयो म दोस्रो श्रेणीमा उत्तीर्ण भए ।अब नर्सिङ पढन् पाइने भइयो भनेर खुसीको सीमा नै रहेन ।
घरको आर्थिक स्थिति पनि खासै राम्रो नभएको हुदाँ मेरो जिद्दीले गर्दा मलाई नर्सिङ शिक्षा पढ्न फलामको चिउरा चपाउनु जस्तै थियोे मैले छात्रवृत्तिमा नाम निकाल्नु पर्छ र पढ्नुपर्छ भनेर दृढ अठोट लिएर छात्रवृत्तिका लागि तयारी गरेको थिए । मैले उच्च शिक्षाका लागि गाउँकै जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भए पढाइको संगसंगै नर्सिङको छात्रवृत्तिको पनि तयारी गरि रहेकी थिए । भनिन्छ भगवानले तैले आट मैले पुर्याइदिन्छु भन्छन भनेजस्तै मेरो छात्रवृत्तिमा नाम पनि निस्कियो अनि मेरो सपना अब केही हदसम्म पूरा भएको मलाई अनुभव भएको थियोे ।
मैले सानैमा आफ्नो दाजु र दिदीलाई गुमाएको थिए, घरको स्थिति पनि त्यति राम्रो नभएको हुँदा मलाई गाउँमै +2 पढ्दै गर्दा बिबाह भयो। जुन मेरो रहर भन्दा बुबा आमाले गराइदिनु भएको थियो । बिबाह पश्चात् श्रीमानको माया, स्नेहले नेपालगन्जमा आएर नर्सिङ पढ्नका लागि नाम निक्ल्यो र उहाँकै सहयोगमा नर्सिङ पढे । नर्सिङ पढ्नका लागि मैले नेपालगन्जमा आएर भेरी नर्सिङ कलेजमा छात्रवृत्तिमा परीक्षा दिए र नाम पनि निस्कियो अनि म लगातार आफ्नो अध्ययनलाई ग्राह्यता दिएर पढे । २०७२ सालमा पिसिएल नर्सिङ उत्तीर्ण गरे अनि जागिरको सिलसिलामा यताउता भौतारी रहे।
कहिले प्राइभेट क्लिनिकमा त कहिले कता सामान्य जागिर गर्दै भौतारी रहे । घरको सामान्य आर्थिक स्थितिले गर्दा सोचेको जस्तो हुने रहेनछन् । जागिरका लागि धेरैलाई हारगुहार गरे तर कसैले पनि वास्ता गरेनन् आफ्नो पावर लाग्ने कुरै भएन् । उक्त बेलामा मेरा श्रीमानलाई ब्लड क्यान्सर भएको थियोे , उहाँको उपचारका लागि मलाई जसरी पनि र जस्तोसुकै कठिन ठाउँमा भएपनि नोकरी गर्नुपर्ने वाध्यता थियोे । जब विश्वभर कोरोना महामारीको भयावह स्थिति भयो नेपालमा पनि त्यसको प्रभाव परेको थियोे सोही क्रममा बाँकेको भेरी अस्पतालमा करारमा कोभिड संक्रमित बिरामीको सेवाका लागि बिज्ञापन खुलाइएको थियोे मैले फारम भरे र म छनोटमा परे । एकातिर कोरोनाका कारण धेरैले जागिर छोड्ने गरेका थिए भने म जागिरका लागि आतुर थिए । मैले २०७६ साल चैत १६ गते देखि भेरी अस्पतालमा रहेको कोभिड आइ सी यु मा सेवा सुरु गरेकी थिए ।
मान्छेलाई जस्तो पनि परिस्थिति पर्ने रहेछ सोही क्रममा मेरो श्रीमान बिरामी भएर मैले उपचार गर्नका लागि काठमाडौंमा लैजानु पर्यो रकम नभएर उहाँको उपचारमा धेरै मनकारी व्यक्तिहरुले सहयोग गर्नुपनि भयो तर विडम्बनापूर्ण मैले काठमाण्डौको पाटन हस्पिटलमा उहाँको उपचार गराएकी थिए, उहाँको अप्रेसन गर्ने तयारी भइरहेको थियोे, सहयोगी व्यक्तिहरुबाट रकम उठाउने काम सुरु भएको थियोे तर उहाँलाई बचाउन सकिन् अहिले म मेरो ६ वर्षको छोरालाई हेरेर र उसको आशामा म बाचिरहेकी छु, उसको पढाइ लेखाइमा लागेकी छु । अस्पतालका सबै सिनियर देखि जुनियर, उपल्लो तल्लो तहका कर्मचारी, चिकित्सक सबैको माया, सद्भाव पाइरहेको छु र आफुले दिनरात बिरामीको सेवामा जुटिरहेकी छु ।
मलाई राम्रो काम गरेको भनेर मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७७ बाट जुन सम्मान राष्ट्रले गरेको छ यसले मलाई थप जिम्मेवार बन्न र यो नर्सिङ पेसालाई मर्यादित र सबैले हाइहाइ भन्ने गराउन तर्फ मेरो भूमिका निरन्तर रहने छ ।
सुनिता कुमारी सहकारी
कालिकोट
हाल भेरी अस्पताल नेपालगन्जमा कार्यरत