काठमाडौं, फागुन १० । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन्।
मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन्। प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन्। त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन्। काजमा जानेले भ्रमण भत्ता लिएका छन्।
स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो। ती बैठकमा उपस्थित भएको भन्दै डा। विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति शाक्य, दीपक महर्जन, सन्तोष सुवेदी र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन्।
बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन्। काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन्। यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो– स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गर्ने सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति । यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन्। यसरी एउटै विषयमा पटक–पटक बैठक राखेर भत्ता लिनेमा डा। रोशन पोखरेल, रघुराम बिष्ट, डा। गुणराज लोहनी, डा। विकास देवकोटा, डा। जागेश्वर गौतम, डा। तारानाथ पोखरेललगायत छन्।
एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ। स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्मले कात्तिकसम्मको भत्ता लिइसकेका छन्। मन्त्रालयमा बस्नेहरूले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन्।
चैतदेखि कात्तिकसम्म मन्त्रालयका कर्मचारीलाई कोरोना जोखिम भत्तामा १ करोड ३ लाख रुपैयाँ खर्च भएको छ। साउनदेखि असोजसम्म दोस्रो चरणमा भत्ता दिएको थियो। यो अवधिमा भत्ता लिनेको सूचीमा स्थायी कर्मचारी मात्रै १ सय ३५ जना छन्। उनीहरूले मात्रै ४७ लाख ८२ हजार ३ सय ९५ रुपैयाँ भत्ता लिएका छन्।
साउनदेखि असोजसम्म सबैभन्दा बढी जोखिम भत्ता लिनेमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल छन्। उनले ९० दिनको ७२ हजार ८ सय २८ रुपैयाँ जोखिम भत्ता लिएका छन्। उनले दैनिक २ हजार २३ रुपैयाँका दरले जोखिम भत्ता लिएका छन्। उनले २०७६ जेठ दोस्रो सातादेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। जेठमा १३ दिन, असारमा ३० दिनको ३४ हजार ७ सय ९५ रुपैयाँ जोखिम भत्ताबापत बुझेका छन्।
मन्त्रालयका प्रमुख अस्पताल प्रशासक डा। गुणराज लोहनीले पनि चैतदेखि असारसम्म १ सय १० दिनकै ७४ हजार २ सय २८ रुपैयाँ भत्ता बुझेका छन्। प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले १ सय ३ दिनको ८३ हजार ३ सय ४७ रुपैयाँ बुझेका छन्। त्यस्तै प्रमुख अस्पताल प्रशासक डा। विकास देवकोटाले एक सय ९ दिनको ७५ हजार ५ सय ५३ रुपैयाँ भत्ता लिएका छन् । ९० दिनकै भत्ता लिने कार्यालय सहयोगीले २९ हजार ४ सय ७१ रुपैयाँसम्म बुझेका छन्।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            