काठमाण्डौँ, माघ १८
नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक चिसो बढेकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। चिसो यथावत रहेमा शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन गरिएको छ।
सूचनामा भनिएको छ, ‘अत्याधिक चिसो भएको कारणले गर्दा मिति २०७७ माघ १९ गते सोमबारदेखि २०७७ माघ २१ गते बुधबारसम्म तीन दिन विद्यालय विदा गर्ने र मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर यस्तै प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरुमा विदा गर्ने व्यवस्था मिलाउनु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराइन्छ।’
नेपालगञ्जमा केही दिनयता चिसो बढेको छ। यहाँको तापक्रम ३ डिग्रीसम्म सेल्सियसमा झरेको छ। आइतबारको न्यूनतम तापक्रम ५ डिग्री रहेको छ।
चिसोमा बालबालिकालाई असर पर्ने भएकाले केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको हो।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            