
काठमाडौं, पुस १४ । नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। नेपालमा कम्युनिस्ट शक्ति फुटेका चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ।
राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ? ’ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतबार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो। राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए।
राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सबै समस्याको समाधान गर्ने जवाफ चिनियाँ टोलीलाई दिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो। ‘नेपाल लोकतान्त्रिक विधिबाटै अगाडि बढ्छ। हाम्रा आफ्नै नियम–कानुन छन्। प्रतिनिधिसभा विघटनको यो विषय अदालतमा छ। यसको निरुपण अदालतले लोकतान्त्रिक बाटोबाटै गर्छ,’ राष्ट्रपति भण्डारीले छलफलमा भनेकी थिइन्।
नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै चिसोपना नआउने राष्ट्रपतिको भनाइ थियो। केपी शर्मा ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री भएका बखत चीनका तर्फबाट कुओ नै बधाई दिन नेपाल आएका थिए। त्यसवेला पनि उनको राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको थियो।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका लागि पनि कुओले केही सुझाव व्यक्त गरेका थिए। त्यस आधारमा अहिले पार्टी अगाडि बढ्न नसकेको विषयमा राष्ट्रपति भण्डारीसँग उनले परिचर्चा गरेका थिए। टोलीको अन्य नेतासँगको छलफलमा भन्दा राष्ट्रपति भण्डारीसँग बढी संवाद भएको स्रोतले जनायो।
राष्ट्रपति सीको विशेष दूतका रूपमा कुओ नेतृत्वको टोली आएको हो। टोलीले आइतबार अपराह्नै बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटेको थियो। नेकपाकै अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग टोलीले सोमबार भेटवार्ता गरिसकेको छ।
कुओ नेतृत्वको टोलीले कम बोल्ने, बढी सुन्ने गरिरहेको स्रोतको भनाइ छ। नेकपा विवाद मिलाउन भूमिका खेल्ने गरी यो टोली काठमाडौं उत्रेको आरोप लागिरहेका बेला टोलीले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नभई आपसी राजनीतिक विश्वास बढाउन र आपसी मित्रतालाई मजबुत बनाउने उद्देश्यसाथ भ्रमण भएको प्रस्टीकरण दिएको छ। टोलीले नेपालको राजनीतिक स्थिरता, सुशासन र विकासका लागि पनि दलहरूको बलियो आन्तरिक एकता कायम हुनुपर्ने सन्देश भेटका क्रममा राखेको छ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित छ ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            