काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय अनुशासन समितिको संयोजकमा परोपकार अधिकारी चयन भएका छन् । चैत्र २२ गते बसेको नेविसंघ केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रीय सदस्य समेत रहेका अधिकारीको संयोजकत्वमा थप दुई सदस्य मनोनित भएका छन् ।
आइतवार(आज) नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी गरिएको पत्र अनुसार, नेविसंघमा आवद्ध सदस्यहरुलाई अनुशासित, मर्यादित र संगठनको बृहत्तर हित अनुकुल क्रियाशिल गराउन, नेविसंघको आचार संहिता २०८१ कार्यान्वयन गर्न/गराउन, नेपाल विद्यार्थी संघको विधान २०२७(संशोधनसहित) को धारा २४(१) तथा संघको केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मतिले पारित निर्णय नं. ४ कार्यान्वयन गर्न/गराउन अधिकारीको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको उल्लेख छ ।
पाँच सदस्यीय समितिमा हाल संयोजक अधिकारीसहित सदस्यहरुमा निर्मला शाह र जेम सिंह राई मनोनित छन् भने बाँकी दुई जनालाई थप गरिने जनाइएको छ ।