श्रावण ५ गते
नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिंहलाई सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।
पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयलाई आर्थिक सहयोग गरेवापत सिंहलाई सम्मान गरिएको बताइएको छ । सर्लाहीबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता रहेको सभापति देउवाले बताए । ‘सर्लाहीको स्थानीय तहमा १२ वटा पालिकामा कांग्रेस नेतृत्वलाई जिताउन सफल सिंहले गरेको आर्थिक सहयोगले केन्द्रीय पुस्तकालयलाई व्यवस्थित गर्न मद्दत पुगेको छ,’ देउवाले भने ।
पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको देउवाले बताए । सिंहले नेपाली कांग्रेस पार्टी संगठनलाई बलियो बनाउन दिनरात जनताको माझमा काम गर्दै आएको भन्दै देउवाले प्रशंसासमेत गरे ।
त्यस्तै केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर कांग्रेसका नेताहरूले पठन संस्कृतिलाई जोड दिएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार विभाग सचिव निकेश त्रिपाठीले बताए ।