
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द
काठमाडौं, पुस १८ । विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो ।
सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।”
पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन...